सशस्‍‍त्र प्रहरीका जवान कार्यालय परिसरमै मृत भेटिए

काठमाडौं। कैलालीमा एक सशस्‍‍त्र प्रहरीका एक जवान अवस्थामा भेटिएका छन्। सशस्त्र प्रहरी बल ३४ नम्बर हेडक्वार्टरमा कार्यरत ३१ वर्षीय हरीशकुमार शाहीको कार्यालय परिसरमै शव भेटिएको हो।

परिसर भित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा बुधबार बिहान साढे ५ बजे शाहीको शव फेला परेको प्रहरीले जनाएको छ। उनको स्थायी घर डडेल्धुरा, भागेश्वर गाउँपालिका-१ हो। घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीको भनाइ छ।

‘अहिलेसम्मको अनुसन्धानबाट शंकास्पद हो जस्तो देखिन्न। घटनास्थलबाट त्यस्तो भएको देखिन्न। तर उहाँको पृष्ठभूमि हेर्दा कहिलेकाहीँ मापसे पनि गर्ने भन्ने खुलेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि केही थप खुल्ला।’

शव पोष्टमार्टमका लागि सेती अस्पताल पठाइएको छ। मृतक शाहीका दुई जना बालबालिका छन्। मृत्युपछि कार्यालयमा भवितव्य ज्यान मुद्दामा जाहेरी प्राप्त भइसकेको विष्टले बताए।