ओलीको मूर्खताले एमाले फुट्यो : गौतम

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिन नसकिने बताएका छन्। एमाले विभाजन भएपछि पार्टी एकता राष्ट्रिय अभियानको भर्चुअल बैठकमा गौतमले अहिलेकै स्थितिमा ओली प्रवृत्तिलाई साथ नदिने बताएका हुन्।

‘केपी ओलीको प्रवृत्तिले नेकपा छिन्नभिन्न भयो। एमालेको यस्तो हालत भयो। उनलाई साथ दिनु भनेको अझ उनको एकलौटी निर्णय, निरंकुश र स्वेच्छाचारी व्यवहारलाई मलजल गर्नु जस्तै हो,’ गौतमको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘त्यसैले एकता अभियानले केही दिनभित्रै निर्णय गरेर कित्ता स्पष्ट पार्छ।’

अध्यक्ष ओलीले नेता नेपालसँग एकता नचाहेको गौतमको बुझाइ छ। एमाले विभाजनको मुख्य कारण पनि केपी ओली नै भएको उनको भनाई छ। ओलीले चाहेको भए एमाले विभाजन नहुने उनले बताए। परिवर्तनका उपलब्धिलाई नष्ट गर्न ओली निरन्तर लागि परेको गौतमले बताए।

‘केपी ओलीको व्यवहार सच्याउन मैले बल गरेँ। उनको व्यवहार सच्चिएको भए नेकपा जोगाउन नसके पनि एमाले जोगाउन सकिन्थ्यो,’ गौतमले भेलामा भनेका थिए, ‘तर,केपी ओलीको व्यवहार सच्चिने भन्दा झन् निरंकुश बन्ने, आफ्नै सहकर्मीलाई अपमानित गर्ने, परिवर्तनका उपलब्धि नष्ट गर्ने र पार्टीलाई छिन्नभिन्न गर्नतिर अग्रसर भयो।’