श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने सञ्जीव साहविरुद्धको मुद्दाको फैसला आजै

महोत्तरी । श्रीमती र छोरीलाई एसिड प्रहार गरी घाइते बनाउने सञ्जीव साहविरुद्ध सजाय निर्धारणका लागि आज जिल्ला अदालतमा पेसी तोकिएको छ। न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासमा सजाय निर्धारणका लागि पेसी तोकिएको जिल्ला अदालत धनुषाले जनाएको छ।

गत १९ कात्तिकमा दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुराली पुगेका साहले श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए। सो घटनामा जिल्ला अदालत धनुषाले यसअघि उनलाई दोषी ठहर गरेको थियो। यसै घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई भने अदालतले सफाइ दिएको थियो।

घटनापछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो।