नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि अवसर र चुनाैती


काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि यस वर्ष अवसर र चुनाैती दुवै थपिएका छन् । दुई दशक भन्दा लामो समयपछि राष्ट्रिय महिला फुटबल टोलीले एएफसी एसियन च्याम्पियनसिप छनोट खेल्न तयारीमा रहँदा टोलीका खेलाडी उत्साहित देखिन्छन्।

दक्षिण एसियाली खेलकुद (साग) र साफ च्याम्पियनसिपमै बढी केन्द्रित रहने महिला टोलीले सन् १९९९ पछि पहिलो पटक एसियन कप छनोट खेल्न अन्तिम तयारीमा जुटेको छ। साग र साफमा नेपालका लागि सदावहार प्रतिद्वन्द्वी रुपमा भारत रहँदै आएको छ। साग र साफका अधिकांश फाइनलमा नेपाल भारतसँगै पराजित हुँदै आएको छ।

भारतमै अर्को वर्ष हुने एसियन कप छनोटका लागि महिला टोली उज्वेकिस्तान जाने तयारीमा छ। जहाँ नेपालले फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। तीनै टोलीले एक अर्कोसँग खेलेपछि शीर्ष टोली भारतमा हुने अन्तिम चरणका लागि छनोट हुनेछ। फिफा वरियतामा नेपाल भन्दा फिलिपिन्स र हङकङ माथि छन्।

नेपाल एक सय एक स्थानमा छ भने फिलिपिन्स फिफा वरीयताको ६८ औं र हङकङ ७६ औं स्थानमा छ। यसलाई आधार मान्दा नेपालका लागि छनोटको यात्रा चुनौतीपूर्ण छ। त्यसमाथि लामो समयको अन्तरालपछि महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ। स्वदेशमा २०७६ मा भएको १३ औं सागपछि नेपाली टोलीले कुनै प्रतियोगिता खेलेको छैन।

कोरोना संक्रमणका कारण विश्व खेलकुद ठप्प थियो। विस्तारै अन्तर्राष्ट्रिय फुटबल सुरु हुँदा पनि महिला प्रतियोगिताका लागि भने निकै समय प्रतीक्षा गर्नुपरेको छ। महिलाको घरेलु फुटबल पनि फागुन यता हुन सकेको थिएन। फागुनमा महिला लिग भएको थियो। त्यहि लिगको प्रदर्शनका आधारमा नै टोली घोषणा गरिएको थियो। प्रारम्भिक टोलीले साउनबाट प्रशिक्षण सुरु गरेको थियो।

राष्ट्रिय महिला टोलीले पहिलो पटक विदेशी प्रशिक्षकको नेतृत्वमा खेल्दैछ। अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सले छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ७ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छन्। ग्यारी छनोट खेल्न पाउनु जति अवसर हो त्यति नै चुनौती पनि ठान्छन्। प्रशिक्षणमा खेलाडीको प्रदर्शनबाट उनी सन्तुष्ट देखिएका छन्।

‘सबै खेलाडीसँग खुसी छु। टोलीमा नयाँ र पुराना खेलाडी गरि सबै युवा खेलाडी छन्,’ उनले भने, ‘छनोट खेलका लागि यो उत्कृष्ट मौका हो, हामीले दिन प्रतिदिन सुधार गर्दै गएका छौँ त्यसैले राम्रो खेल्ने प्रयास गर्नेछौं।’ १३ औं सागको फाइनलपछि नियमित कप्तान निरु थापाले सन्यास लिएकी थिइन्।

अब टोलीको नेतृत्व रेनुका नगरकोटीले सम्हाल्ने सम्भावना छ। निरुको अनुपस्थितिमा उनले नै कप्तानी सम्हाल्दै आएकी छिन्। रेनुका लामो प्रतीक्षापछि छनोट खेल्न अवसर पाएकोले सक्दो राम्रो गर्न प्रयास गर्ने बताउँछिन्। ‘भविष्यका खेलाडीले यो मौकाका लागि कति पर्खनुपर्ने हो टुंगो छैन,’ उनले भनिन्, ‘अहिले हामीले मौका पाएका छौं। नयाँ खेलाडी पनि आएका छन्। हामी सबै उत्साहित छौं।’

सुरुमा यो छनोट नेपालमै हुने तय थियो। तर कोरानाको कारण देखाउँदै छनोट तथष्ट मैदानका रुपमा उज्वेकिस्तानमा हुँदैछ। फेरि एक पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने महिला टोलीको सपना पूरा हुन सकेन।

सुरुमा घरेलु मैदानमा खेल हुने खबरले टोली निकै उत्साहित रहेको सुनाउँदै रेनुकाले भनिन्, यो पटक पनि सम्भव भएन। विदेशी भूमिका मौसम, मैदानमा घुलमिल हुन समय लाग्छ। यात्रा सहज पक्कै हुने छैन। तर पनि हामी आफ्नो शतप्रतिशत दिनेछौं। टोलीकी सर्वाधिक गोलकर्ता रहेकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी विना नै यसपटक महिला टोली छनोट खेल्दैछ। लिगका दौरान घुँडामा गम्भिर चोट लागेकी सावित्रा अहिले कतारमा उपचार गराइरहेकी छिन्। उनको अभाव खड्कन सक्ने ग्यारीको अनुमान छ।

मिडफिल्डर सरु लिम्बुले सावित्राको अभाव हुने भएपनि आफूहरुले त्यो महसुस हुन नदिन प्रयास गर्ने बताइन्। उनले भनिन्, ‘सावित्रा दिदी हुँदा हामीलाई केहि सहज पक्कै हुन्थ्यो। तर उहाँ उपचारमा हुनुहुन्छ। हामी सक्दो राम्रो गर्न कोशिस गर्छौ। प्रशिक्षण राम्रो भैरहेको छ। पहिला फिटेनसमा मात्र बढी ध्यान दिन्थ्यौं। यसपटक बलसँगै धेरै अभ्यास गरेका छौं।’​

उमेर समुहमा टोलीको कप्तानी समेत सम्हाली सकेकी मिडफिल्डर प्रीति राईसहित फरवार्ड सविता राना, रश्मी घिसिङ, रजनी थोकर, डिफेन्डर विमला विक, निशा थोकर र सृजना सिंह पहिलो पटक टोलीमा परेका छन्। उत्साहित प्रीतिले भनिन्, ‘मेहनतको फल बल्ल पाए जस्तो लागेको छ। आफुले सकेको राम्रो गर्छु।’

 यस्तै चाेटपछि पुनरागमन गरेका हिरा कुमारी भुजेल, दिपा राई गायत सबैले प्रशिक्षणमा राम्रो सुधार गरेको प्रशिक्षक फिलिप्सले बताए। नेपाली राष्ट्रिय महिला टोलीले पछिल्लो एक दशक भन्दा यता नियमित प्रतियोगिता खेलिरहेको छ।

सन् २०१० यता साग र साफ च्याम्पियनसिपमा नियमित रुपमा भाग लिइरहेको नेपाल सदावहार दाबेदार हो। एक पटक साफको सेमिफाइनलमा बाहिरिएको नेपाली टोली त्यसबाहेक साग र साफका सबै संस्करणमा फाइनल खेल्दै आएको छ। सबै फाइनल नेपालले भारतसँगै गुमाएको छ।

यो बीचमा नेपालले ओलम्पिक छनोट, भारतमा हिरो कप र उज्वेकिस्तान नादेझ्दा कप खेलेको थियो। ओलम्पिक छनोटमा दक्षिण एसियाबाहेकको  प्रतिद्वन्द्वीका रुपमा म्यानमारको सामना गरेको थियो।​ एसियन कपमा महिला टोलीले यसअघि तीन पटक भाग लिएको छ।

जसमा नेपालले अहिले सम्म जित निकाल्न सकेको छैन। पहिलो पटक सन् १९८६ मा हङकङमा भएको छनोट खेलमा नेपाली टोली हङकङसँग १–०, थाइल्याण्डसँग ५–० र इन्डोनेसियासँग ६–० ले पराजित भएको थियो। सन् १९८९ मा हङकङमा नै भएको अर्को छनोट खेलमा नेपाल आयोजक टोलीसँग ३–०, इन्डोनेसियासँग ८–० र जापानसँग १४–० ले स्तब्ध भएको थियो।

पछिल्लो पटक सन् १९९९ मा फिलिपिन्समा भएको छनोटमा आयोजक टोलीसँगको खेल  ५–० ले गुमाउँदा थाइल्याण्डसँग ५–० र जापानसँग १४–० को फराकिलो हार बेहोरेको थियो। त्यतिबेला अरुणा गुरुङ, पेमा लामा, जमुना गुरुङ, लुना प्रधान, मिरा चौधरी लगायतका खेलाडी मैदान उत्रेका थिए। उनीहरु मध्ये कति अहिले प्रशिक्षक र व्यवस्थापकको जिम्मेवारीमा छन् भने कति फुटबलबाहेक सक्रिय छन्। अरुणा गुरुङ अहिले एसियन कप छनोट खेल्ने टोलीको प्रशिक्षकमा छिन्।