भालुको पित्तसहित पक्राउ

बागलुङ । शिकार खेल्न प्रतिबन्धित दुर्लभ जंगली जनावर भालुको पित्तसहित यहाँका एक जना पक्राउ परेका छन् । प्रहरीले ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदी बस्ने ४२ वर्षीय चित्रबहादुर सेरवुर्जा प्रतिबन्धित भालुको पित्तसहित पक्राउ गरेको हो ।


सेरवुर्जाले भालुको पित्तको कारोबार गर्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । पक्राउ पर्ने सेरवुर्जामाथि अनुसन्धान तथा मुद्दा चलाउनको लागि बिहीबार जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको छ । भालु एक दुर्लभ जंगली जनावर हो । नेपालमा भालुको शिकार खेल्न प्रतिबन्द लगाइएको छ ।


जिल्ला प्रहरी कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी सेरवुर्जालाई कारबाहीका लागि जिल्ला वन कार्यालय बागलुङमा पेस गर्ने प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । बुधबार साँझ प्रहरीले हुन्द्रफेदी पुगेर खोज तलास गर्दा २५० ग्राम पित्त लुकाई राखेको अवस्थामा फेला परेको थियो ।