केपी ओलीले गाली गर्नबाहेक केही जान्नुभएको छ ? : डा वेदुराम भुसाल

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता डा. वेदुराम भुसालले  अब एमाले अध्यक्ष केपी ओलीको औचित्य सकिएको टिप्पणी गरेका छन् । एकीकृत समाजवादी पार्टी आफ्नो लक्ष्यमा अघि बढिसकेकाले कसैको धाक धम्कीबाट विचलित नहुने उनले स्पष्ट पारे ।

आज बिहान नेपाली रेडियो नेटवर्क कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता डा. भुसालले भने, “अब केपी ओलीको औचित्य सकिइसकेको छ ।  निर्वाचन आयोग, अदालत जता गए पनि केही फरक पर्दैन । माधव नेपालको औचित्य छैन भने किन चिन्ता गरेको ? केपी ओलीले गाली गर्नबाहेक के जान्नुभएको छ ? केपीले सही कुरा कहिले गर्नुभएको छ ? उहाँ ठीक भएको भए हामी अहिले एमालेमै हुन्थ्यौं । उहाँले एमालेलाई जनविरोधी बनाउँदै समाप्त गरेको हेर्न नसकेर अर्को पार्टी गठन गरेका हौं ।”डा. भुसालले एमाले विभाजनको निर्णयकर्ता ओली नै भएको र २०७७ फागुन २८ गतेको निर्णय बदर गर्न वार्तामा पठाएका आफ्नै १० जना साथीहरुले त्यसैलाई सदर गरेर धोका दिएको पनि बताए ।

उनले भने, “हाम्रै साथीहरुले मुद्दा छाडेर प्रतिगमन र राष्ट्रघातको पक्ष लिएका छन् । ओलीसँग आत्मसमर्पण गरेका छन् । हिजो ओलीलाई प्रतिगमनकारी, राष्टघाती र लोकतन्त्र विरोधी भन्नुहुन्थ्यो, आज के भन्नुहुन्छ ? हिजो प्रदेश प्रदेशमा कमिटी बनाउने उहाँहरु नै होइन ?”उनले जिल्ला जिल्लामा कमिटी बन्ने र कार्यालय खुलेका र निकट भविष्यमै राष्ट्रिय सम्मेलन गरिने पनि जानकारी दिए । साथै उनले आफ्नो पार्टीमा नआए वाग्मती र प्रदेश १ का मुख्यमन्त्रीलाई समर्थन नहुने पनि स्पष्ट पारे । उनले भने, “हाम्रो पार्टीमा नरहँदा उहाँहरुलाई किन समर्थन गर्ने ? उहाँहरु कसैलाई पनि माधव नेपालको समर्थन रहँदैन । साथमा भए हुन्छ, नभए हुन्न ।”

उनले सरकारमा पार्टीको नेतृत्व गरेर जाने इच्छा नभएको र मन्त्री आफ्नो प्राथमिकता नभएको पनि बताए । उनले भने, “हामीले पाँच मन्त्रालय पाउने मोटामोटी सहमति छ । मन्त्रालयको टुंगो लागेपछि मन्त्री टुंगो लाग्छ । मन्त्री छान्न कुनै गाह्रो  छैन ।”