गुण्डागर्दीमा नाम कमाएका बस्नेतलाई देउवाको झटारो, दुर्लभ थापालाई चुनाव हराएर देखाए हुन्छ

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरको सूर्यविनायकमा पुगेर एमाले नेता तथा सोही क्षेत्रका सांसद महेश बस्नेतलाई आउने चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

कांग्रेसको आजदेखि शुरू भएको वडा अधिवेशनको उद्घाटन गर्न सूर्यविनायक-५ कटुञ्जेमा पुगेका देउवाले महेश बस्नेतको नाम लिँदै जिल्ला सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउन चुनौती दिएका हुन् ।

देउवाले भने, ‘कांग्रेस सशक्तरूपमा अघि बढेको छ । महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन् । बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’

भक्तपुर क्षेत्र नम्बर २ मा बस्नेतले २०७४ सालको आम निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गरेका थिए । केही दिनअघि उनले भक्तपुरमा अब कांग्रेस शिला खोज्नुपर्ने भन्दै सभापति देउवालाई आफूसँग चुनाव लड्न चुनौती दिएका थिए ।