पार्टीमा झगडा पार्न सिपालु वामदेवको राजिनामामा ओलीमाथि आरोपै आरोप

काठमाडौं । एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएका वामदेव गौतमले पार्टी अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाएका छन् । उनको राजीनामापत्र पूर्णरुपमा ओलीप्रति लक्ष्यित छ ।

ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएको गौतमले उल्लेख गरेका छन् । पार्टी अध्यक्षमा निर्वाचित भएपछि ओलीले नवौं राष्ट्रिय महाधिवेसनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अबलम्बन नगरेको उनको आरोप छ ।

‘नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को ‘साझा घोषणा’ लाई तपाईं प्रधानमन्त्री हुनु भएपछी आफ्नो कार्यकाल भरी त्यसलाई लागु गर्नु भएन ।’ गौतमले भनेका छन्, ‘तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक-पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछी पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन।’

पार्टीका समकक्षीहरुलाई अपमान गर्ने, कारवाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगालेको गौतमको आरोप छ । राष्ट्रपतिलाई पनि आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरु कार्यान्वयन गर्न दुरुपयोग गरेको उनले राजीनामा पत्रका उल्लेख गरेका छन् ।

गौतमले ओलीसँगको चार दशक पुरानो व्यक्तिगत सम्वन्ध भने मित्रतापूर्ण रहिरहने आशा व्यक्तगरेका छन् ।