अमेरिकाको जवाफ नआएकाले एमसीसी पास हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास नहुने बताएका छन् । आज वाइसिएलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी पास नहुने बताएका हुन् ।

‘एमसीसी पास हुँदैन,’ प्रचण्डको भनाई उदृत गर्दै बैठकमा सहभागी वाइसिएल नेता भने, ‘हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएकोमा जवाफ आएन । जवाफ नआएकाले एमसीसी पास हुँदैन ।’ एमसीसी पास नहुनेमा ढुक्क हुन समेत प्रचण्डले भनेका छन् ।

माओवादीले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुनै विषयमा सहमति नजनाउने बताए । उनले आफ्नो दलले राष्ट्रियतामा सधै अडान लिने गरेको समेत बताए ।

एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सक्रिय भइरहँदा सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फरक धारणा आएको हो । एमसीसीकी उपाध्यक्ष फतिमा जे. सुमर नेपाल आउनुभन्दा दुई दिनअघि प्रचण्डले एमसीसी पारित नहुने अभिव्यक्ति दिएपछि तरंग आएको छ ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी ५० करोड डलरको परियोजना हो । यो सम्झौता भएपनि संसदबाट पारित नभएसम्म कार्यान्वयन हुँदैन । तर, संसदबाट पारित गर्ने सवालमा विवाद छ ।