टहराबाटै बालक अपहरण !

काठमाडौं । काठमाडौंको कपनबाट ४ वर्षीय बालक पियुष शर्मा बेपत्ता भएका छन्। भारत घर भई कपन बस्दै आएका विनोद शर्माका छोरा पियुष सोमबार दिउँसो साढे ४ बजेदेखि अचानक बेपत्ता भएपछि प्रहरीले अपहरणको आशंका गरेको छ। 

बालक बेपत्ता भएको भन्दै पीडित परिवार बुढानीलकण्ठ प्रहरीमा पुगेका छन्। मिस्त्री काम गर्दै आएका विनोदका दाजु मिठु शर्माको टहराबाटै बालक बेपत्ता भएको परिवारको भनाइ छ। 

विनोदका दाजु मिठु शर्माको टहरासँगै शंकर दासको पनि टहरा छ। बालकसँगै शंकर पनि गायब भएपछि उनैले अपहरण गरेको हुन सक्ने प्रहरीको आशंका छ। 

‘शंकरले नै अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘शंकरले प्रयोग गर्ने मोबाइल पनि कोठामै भेटिएको छ। बुझ्दै जाँदा उनले बसपार्कमा वीरगञ्ज जाने गाडी सोधेको पत्ता लागेको छ। बाँकी हामी अनुसन्धान गर्दैछौँ।’ 

अपहरणमा परेका बालक र अपहरणको आशंका गरिएका दास दुवैको घर भारतको विहारमा रहेको खुलेको छ। प्रहरी उच्च स्रोतका अनुसार अपहरणकारीले अहिलेसम्म फिरौती रकम माग गरेका छैनन्। 

‘अपहरणकारीले अहिलेसम्म फिरौती नमाग्नुले कतै पारिवारिक मनमुटाव पो थियो कि भन्नेतिर हामी अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी स्रोत भन्छ, ‘मिठूमार्फत् नै दास मजदुरीका लागि भारतबाट काठमाडौँ आएका रहेछन्। अचानक दास गायब हुनुले अनेक प्रश्न सिर्जना भएको छ। हामी अहिले नै केही भन्न सक्ने अवस्थामा छैनौँ।’