करीब एक करोड चार लाख भ्रष्टाचारका आरोपी कार्कीविरुद्ध विशेषमा मुद्दा दायर

काठमाडौं । करीब एक करोड चार लाख भ्रष्टाचारका आरोपी प्रहरी सहायक निरीक्षक दिलिप कार्कीविरुद्ध अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।

कार्कीले हुँदै नभएको कारोबारको असूली देखाएर रकम हिनामिना गरेको अख्तियारले दाबी गरेको छ ।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार कार्कीले प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोलपम्प, नक्सालमा ग्राहकले तिरेको रकमलाई गलतरुपमा डाटा प्रविष्ट गरेको देखिएको छ ।

अख्तियारले पाएको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा प्र.स.नि. दिलिप कार्कीले प्रहरी पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा निजले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी रु १,०३,९७,९३७।५४ हिनामिना गरेको देखिएको छ ।

कार्कीको सो काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकोले उनलाई सोही दफाको प्राबधानबमोजिम सजाय र बिगो दाबी अख्तियारले माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।