काठमाडौं कांग्रेस नगर अधिवेशन आज

काठमाडौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार काठमाडौँमा नगर अधिवेशन हुँदैछ। संघीय राजधानी काठमाडौँको नगर अधिवेशनलाई कांग्रेस नेता–कार्यकर्ताले विशेष महत्वका साथ हेरिरहेका छन्।

काठमाडौँ महानगरमा तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका निलकाजी शाक्य र प्रगतिमान रञ्जितले उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौँ महानगर वडा २५ का वडाध्यक्षसमेत रहेका शाक्य नेता प्रकाशमान सिंह निकट हुन्। रञ्जित पनि प्रकाशमान निकट थिए, तर पछिल्लो समय भीमसेनदास प्रधानसँग उनी नजिक छन्। उनी नेपाल तरूण दल काठमाडौँ महानगर समितिका संस्थापक सभापति हुन्।

काठमाडौँका अरु नगरहरु शंखरापुर नगरपालिकामा दिलीपकुमार श्रेष्ठ, टोखा नगरपालिकामा दीपक जोशी, बुढानीलकण्ठ नगरपालिकामा राजाराम बुढाथोकी, गोकर्णेश्वर नगरपालिकामा कुमार लामा, कागेश्वरी मनोहरा नगरपालिकामा मिठाराम दाहाल, तारकेश्वर नगरपालिकामा श्रीराम थापा, चन्द्रागिरि नगरपालिकामा घनश्याम गिरी, नागार्जुन नगरपालिकामा दुर्गा गौतम उम्मेदवार छन्। उनीहरु प्रकाशमान नजिक रहेको मानिन्छ।

कागेश्वरी मनोहरा नगरपालिकाको सभापतिमा शेरबहादुर देउवा पक्षबाट उद्धव दाहाललाई उम्मेदवार बनाउने तयारी छ। कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको नेपाली कांग्रेसले जनाएको छ।