नीधि भन्छन्, सरकारले अझै पूर्णता नपाउनु खेदको विषय हो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

निधिले छिटोभन्दा छिटो मन्त्रिपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई  आग्रह गरे।

गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाएकोमा दुःखसमेत व्यक्त गरे।

उनले सरकारले अझै पूर्णता नपाउनू सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको स्मरणसमेत गराए।

उपसभापति निधिले भने, ‘८१ दिन भो गठबन्धनको तर्फबाट सरकार बनेको तर गठबन्धनबीच सहमति नभएको कारण हाम्रै पार्टीका सभापति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन। मन्त्रिमण्डलले अझै पूर्णता नपाउनू भनेको यो सारै चिन्ता र दुःखको विषय हो। नेपाली कांग्रेसको लागि पनि र गठबन्धन दलहरुको लागि पनि।

यो नेपाली कांग्रेस र सरकारमा सहभागी दलहरुको लागि मात्रै होइन पूरै नेपालको लागि यो चिन्ता र दुःखको विषय हो कि आजको मितिसम्म पनि सरकारले पूर्णता पाउन नसक्नू। त्यस कारणले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरुसँग म के अनुरोध गर्न चाहन्छु भने अब धेरै ढिला भयो। अब छिटोभन्दा छिटो मन्त्रिमण्डलले पूर्णता पाउने गरी तपाईंहरुको निर्णय आउनै पर्ने भयो। अब धेरै पर्खिँन सकिँदैन।’

उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे।