एमालेका प्रतिनिधिहरूले पार्टी विभाजन भएको होर भनेपछि…

गोदावरी । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज सम्पन्न भएको छ । समूहका नेताहरूले शनिबार प्रस्तुत गरेका प्रतिवेदनहरूमा उठाइएका प्रश्नहरूको जवाफ नेताहरूले दिएपछि महाधिवेशनले केही प्रस्तावहरूले पारित गर्नेछ ।

महाधिवेशनको अन्तिम दिन आइतबार मध्याह्न १२ बजेसम्म प्रतिनिधिहरू आपसमा भेटघाट, चिनापर्ची, फोटो सेसन र खानामा व्यस्त थिए ।

पार्टीका झण्डा र व्यानरहरूले झकिझकाउ सम्मेलन केन्द्रलाई पृष्ठभूमिमा राखेर तथा कुनै नाम चलेका नेता देख्नेबित्तिकै बीचमा राखेर समूहमा फोटो खिच्ने काम तीनै दिन एकनासले चल्यो ।

प्रतिनिधिहरू पार्टी विभाजन भएको मान्न तयार छैनन् । सय जना भन्दा बढी प्रतिनिधिहरू कसैले पार्टी विभाजन भएको भन्ने कुरा मानेनन् ।

उनीहरूले पार्टी विभाजन भएको होइन, पदलोलुप केही नेताहरू छोडेर गएका हुन् भन्ने समान धारणा प्रकट गरे । सप्तरीका प्रतिनिधि मोहम्मद कलिम आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा एमालेले बहुमत हासिल गर्ने र फेरि एक पटक केपी ओली प्रधानमन्त्री हुनेमा ढुक्क छन् ।

उनले भने, ‘यो महाधिवेशनले पार्टीका सबै तहका नेता, कार्यकर्ता र शुभेच्छकलाई ऊर्जा दिएको छ, मनोबल बढाएको छ । मंसिरमा हुने राष्ट्रिय महाधिवेशनले यसलाई अझै सुदृढ गर्नेछ । एमालेको बहुमत आउनेमा कुनै शंका छैन ।’

कलिमका अनुसार यो महाधिवेशन नेकपा एमालेको पार्टी जीवनमा मात्रै नभई सिङ्गो देशका लागि महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय समुदायले समेत यसमा नजर लगाएको छ । कलिमले अरू पार्टीबाट एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । उनका अनुसार नव प्रवेशीमा सबैभन्दा बढी माओवादी केन्द्रका छन् । यसपछि नेपाली कांग्रेसका र मधेश केन्द्रित दलका छन् ।

उनले भने, ‘म एउटै वडाबाट पाँच सय जनालाई हाम्रो पार्टीमा प्रवेश गराएर काठमाडौँ आएको हुँ ।’ पार्टी विभाजन भएकोमा कलिम केही दुःखी देखिए तर आउने निर्वाचनमा कुनै पनि असर नपर्ने उनको ठोकुवा छ । सुनसरीका मोहम्मद शाहिद हुसेन पनि कलिमको विचारमा सहमत देखिए । उनी पार्टी विभाजनबाट एमालेको मतमा कुनै पनि असर नपर्नेमा ढुक्क छन् ।

बैतडीकी कुश्मा चन्दका अनुसार विधान महाधिवेशन निकै महत्वपूर्ण रह्यो । समूह छलफलका क्रममा प्रतिनिधिहरूले आफ्ना कुरा भन्न पाए, नेताहरूले समूहका प्रतिवेदन ध्यानपूर्वक सुने ।