सिभिल बैंकका अध्यक्ष ग्राहक ठग्दा पक्राउ

काठमाडौं । सिभिल बैंकका अध्यक्ष तथा व्यापारी इच्छाराज तामाङ ठगी आरोपमा पक्राउ परेका छन् ।

सिभिल ग्रुपका अध्यक्षसमेत रहेका तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार साँझ सुन्धाराबाट पक्राउ गरेको हो । उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद थिए ।

ब्युरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार ४६ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा तामाङविरुद्ध ७५ जनाले उजुरी दिएका थिए । बाँकी ४५ जना पनि मंगलबार तामाङविरुद्ध उजुरी लिएर ब्युरो जाने तयारीमा रहेको पीडित एक बचतकर्ताले जानकारी दिए । त्यसकै आधारमा तामाङलाई पक्राउ गरिएको डीआईजी सिंहले बताए । 

२०५५/५६ ताका तामाङले आफू अध्यक्ष रहेको सिभिल सहकारी खोलेका थिए । करिब १० वर्षसम्म उनी सहकारीको अध्यक्षमा बसे । त्यसक्रममा उनी सहकारीको अध्यक्ष र लोन शाखा प्रमुख बनेका थिए । यसबीचमा तामाङले सिभिल ग्रुपमार्फत हाउजिङ र जग्गा कारोबारलगायतका कम्पनी पनि खोलेका छन् । त्यसका लागि आफ्नै सहकारीबाट ऋण लिए । जग्गा धितो राखेर ऋण लिए पनि धितो राखिएकै जग्गामा कानुनविपरीत घर बनाएर बेचेको आरोप पनि उनीमाथि छ । सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

सिभिल सहकारीबाटै ऋण लिएर सिभिल होम्सअन्तर्गत करिब १ हजार १ सय घर बनाएर बेचेको तर सहकारीको ऋण तिर्न नमानेको आरोप छ । २०६७ मा सिभिल बैंक स्थापना भएपछि उनी बैंकको अध्यक्ष बने । त्यसपछि सहकारीको नेतृत्व नातामा मामाससुरा पर्ने केशवलाल श्रेष्ठलाई सुम्पिए । श्रेष्ठलाई सहकारीको लोन शाखा प्रमुख पनि बनाइयो । निकट व्यक्तिलाई लोन शाखामा राखेर उनले आफूले भनेअनुसार रकम लेनदेन गर्न सहज बनाएका थिए । तर, सहकारीका बचतकर्ताको रकम हिनामिना हुने क्रम रोकिएन ।