न्यूरोडका ५ पसललाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले न्यूरोडका ५ वटा पसललाई कारबाही गरेको छ।

नियमानुसार पसल सञ्चालन नभएको पाइएपछि न्युरोडको खिचापोखरीका पाँचवटा पसललाई विभागले कारबाही गरेको हो।

कारबाहीमा परेका ३ पसलले दर्ता नगरीकन पसल सञ्चालन गरेको पाइएपछि विभागले १५ देखि २० हजार रूपैयाँका दरले जरिबाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताए।

निरीक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेका दुईवटा पसलमा भने मुख्य व्यापारी नै पसलमा नभएकाले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताए।

निरीक्षण अधिकृत झाले भने, ‘न्यूरोडको खिचापोखरीमा अनुगमन गर्‍यौँ, ७ वटा पसलमाअनुगमन गर्‍यौँ, कपडापसल, भाँडापसल, २ वटा खाद्यान्न पसलमा अनुगमन गर्‍यौँ, ७ पसलमध्ये दुई/तीन वटा दर्ता नै नगरी सञ्चालन गरेको पाइयो, जसलाई हामीले तत्काल जरिबाना गर्‍यौँ, कसैलाई १५ हजार, कसैलाई २० हजार जरिबाना तिरायौँ, एक/दुई वटा पसलमा स्वयं साहु नभएकाले उहाँहरूलाई तीन दिनको समय दिएर विभागमा बोलाएका छौँ ।’

सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ। विभागका तर्फबाट चाडपर्वलाई लक्षित गरी ग्राहकलाई नठगिउन् र बिक्री गरिएका सामग्रीको गुणस्तर जाँच गर्न प्रत्येक दिनजसो अनुगमन गरिरहेको छ।