काठमाडौंमा अब कोही भोकै पर्दैन, भोकले कोही मर्दैन : मेयर शाक्य


काठमाडौं । सडकमा बेसहारा जीवन विताइरहेका व्यक्तिहरुको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माण हुने भएको छ । नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, जग्गामा भवन निर्माणको काम काठमाडौं महानगरपालिकाले गरिदिने र सेवा सञ्चालन मानव सेवा आश्रमले गर्नेगरी त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरे । यसका लागि काठमाडौं महानगरपालिकाले २०७८ असोज १२ बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । यसैगरी नागार्जुन नगरपालिकाको गएको असार २१ गते सम्पन्न नगरसभाले निर्णय गरेको थियो ।

नागार्जुन नगरपालिका वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा नगरपालिकाकै नाममा आश्रम निर्माण गरिनेछ । भवनको नाम ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ हुनेछ । यहाँ रहने व्यक्तिहरुको लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृतिजस्ता अवस्थाका आधारमा छुट्याएर अधिकतम मानवीयताको प्रबर्धन गर्ने गरी सेवा सञ्चालन र व्यवस्थापन गर्ने काम मानव सेवा आश्रमले गर्नेछ ।

विभिन्न कारणहरुबाट घरवारविहिन भएर काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु तथा मठ मन्दिरजस्ता सार्वजनिक ठाउँका खुल्ला आकाशमुनि कष्टपूर्ण जीवनयापन यापन गर्ने व्यक्तिहरुलाई उद्धार गरेर यस आश्रममा राखिनेछ । उद्धार, उपचार, पालन पोषण त्यसपछि पारिवारिक पुनर्मिलन गराउनु कार्यक्रमको लक्ष्य हो । उपत्यकालाई सहयोगापेक्षी सडक मानवरहित सहर बनाउन र मानवता प्रवर्धनको कामलाई दिगो बनाउन यस अघिदेखि नै सडकका मानिसहरुलाई उद्धार, उपचार र पारिवारिक पुनमिलन गराउने काम भइरहेको छ ।

सम्झौतापछि महानगरका प्रमुख शाक्यले, सहरका कुनै पनि ठाउँमा खुल्ला आकाशमुनि कसैले पनि कष्टकर जीवन बिताउनु नपरोस् भन्नका लागि आश्रम बनाउन लागिएको बताए । ‘काठमाडौँ मानवीयताको सहर हो । यहाँ शारीरिक तथा मानसिक रुपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएका, अशक्त तथा सहयोगापेक्षी कसैले पनि भोकै बस्नु पर्दैन । बेसहारा हुनु पर्दैन । जसको कोही हुँदैन । उसका लागि सरकार छ ।’ शाक्यले जोड्दै भने, ‘कोही नहुने वेसहारालाई उद्धार, उपचार, पालन पोषण र आवश्यक भए शिक्षादीक्षाजस्ता आधारभूत मानवीय आवश्यकताको परिपूर्ति यसै आश्रमबाट हुनेछ ।’

सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र भविष्यमा मानव सेवा आश्रम संचालन व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन आवश्यक नीति तर्जुमा गर्ने, निर्णय गर्ने तथा कामकारवाहीलाई निर्देशन गर्ने उद्देश्यले काठमाडौं महानगरका प्रमुखको संयोजकत्वमा ४ सदस्यीय निर्देशक समितिको व्यवस्था गरिएको छ । समितिको सदस्यमा नागार्जुन नगरपालिकाका प्रमुख, मानव सेवा आश्रमका अध्यक्ष र काठमाडौं महानगरपालिका वा नागार्जुन नगरपालिकाले तोकेका कार्यालयका विषयसम्वद्ध पदाधिकारी १-१ जना रहनेछन् ।

निर्देशक समितिले तोकेका पदाधिकारीहरु रहेको एक भवन निर्माण तथा व्यवस्थापन उपसमिति गठन हुनेछ । उपसमितिले निर्देशक समितिले तोकेबमोजिम काम गर्नेछ । यसै बर्ष निर्माण कार्यको थालनी गर्ने र ०८० सालमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको हो । सम्झौता अवसरमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, दुवै नगरका कार्यपालिका सदस्यहरु, नागार्जुन नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरसहित पदाधिकारीहरु सहभागी थिए ।