मन्त्री बन्नेको चिर्कटो बोकेर माधवकुमार बालुवाटार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको लिस्ट बोकेर बालुवाटार पुगेका छन्।

प्रधानमन्त्रीको निजी आवास बालुवाटारमा बिहीबार बस्ने सत्तापक्षीय गठबन्धनको बैठकमा सहभागी भएसँगै अध्यक्ष नेपालले उक्त लिस्ट प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने छन्।

एकीकृत समाजवादीको स्थायी समिति बैठक सकाएर अध्यक्ष नेपाल बालुवाटार पुगेका हुन्। एकीकृत समाजवादीका नेता विरोध खतिवडाले स्थायी समितिले दिएको म्यान्डेटअनुसार अध्यक्ष नेपालले मन्त्री बन्ने नेताहरुको लिस्ट साथमा लगेको जानकारी दिए।

उनका अनुसार बैठकले पार्टीलाई दिएको मन्त्रालयको संख्या अपुग भएकाले गठबन्धनको बैठकमा थप संख्या माग्न अध्यक्ष नेपाललाई निर्देशन दिएको छ। सहमतिअनुसार थप मन्त्रालयको संख्या माग्ने र लगत्तै मन्त्री बन्नेहरुको लिस्ट प्रधानमन्त्रीलाई बुझाउने नेता खतिवडाले बताए।