सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष लिने त ?

उनले नेकपा एमालेसँग छलफलको लागि आफू तयार रहेको बताएका छन्। सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए।

उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्षी दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन्।

सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए।

‘पहिला हाम्रो संवाद भइरहेको थियो। अहिले विवाद भइरहेको छ। अन्तिममा फेरि वादविवाद, संवादको विकल्प छैन। ढिलोचाँडो उहाँहरु संवादमा आउनुहुन्छ’, उनले भने, ‘मैले ड्यासबाट नै पनि उहाँहरुलाई विनम्रतापूर्वक संसदको गरिमालाई बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै छ, के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो। के गर्नुपर्छ त्यसको लागि म तयार छु।’
आफूले संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेरै तटस्थ, निष्पक्षी र स्वतन्त्र भूमिका खेलेको दावी गर्दै सभापति सापकोटाले भने, ‘सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ। जतिसुकै ठूलो समस्या भए पनि संवादको विकल्प छैन। समन्वय, सहकार्य र समझदारी नै हो।’

अहिले संसदमा अलिकति समस्या देखिएको भन्दै उनले कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्ने विश्वास व्यक्त गरे।

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताए। संसद सुचारु रुपमा चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफूले सकेसम्म पहल गर्ने उनको भनाइ छ। संसद पुनःस्थापना गर्न लागिपरे जस्तै संसद सुचारु रुपमा चलाउन संसदहरुले पहल गर्नुपर्ने बताउँदै उनले संसदलाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागिपर्ने धारणा राखे।

‘राजनीतिमा आग्रह, पूर्वाग्रह हुन्छ, प्रतिसोध सोच्न पनि सकिँदैन। यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्। सकारात्मक सोचको विकास हुनेछ’, सभामुख सापकोटाले भने, ‘अझ निष्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक, ट्रयाक वान, टू, सबै उपायहरु अवलम्बन गर्नका लागि मैले सके जति मेहनत गर्छु।’

उनले संसदलाई जीवन्त र प्रभावकारी बनाउनुको विकल्प नभएकोमा जोड दिए।

संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै सञ्चारमाध्यमहरुमा आएको कुरा सही नभएको उनले बताए।
सभामुख सापकोटाले राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढ्न आफूले नरोकेको सहजीकरण नै गरेको बताए।
उनले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरु उदासीन नभएको बताउँदै संसद सुचारु गर्नका लागि शान्तपूर्वक लागिपर्ने प्रतिवद्धता जनाए।

उनले यसका लागि सरकार, गठबन्धन दल र सबै सांसदहरुले समीक्षा गर्नुपर्ने औंल्याए।

संसद लोकतन्त्रको आत्मा भएको भन्दै सभामुख सापकोटाले सभामुख र सांसदहरुको भूमिका बढाउन आवश्यक रहेको बताए।
उनले लोकतन्त्र संघीय संसदमा कमैमात्र प्रयोग भएको बताउँदै आगामी कार्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा संसद सुचारु रुपले चल्नेमा आफू आशावादी रहेको बताए।