आफ्नै कार्यकालमा महानगरको भवन बनाउने मेयर शाक्यको उद्घोष

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा महानगरपालिकाको केन्द्रीय कार्यालय निर्माण सम्पन्न गरिसक्ने उद्घोष गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. १२ स्थित हाल वातावरण विभाग रहेको स्थानमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि शिलान्यास गर्दै मेयर शाक्यले सो कुरा बताएका हुन् । २०७२ सालको भूकम्पले महानगरपालिकाको कार्यालय क्षतिग्रस्त भएपछि महानगरपालिकाले अस्थायी रुपमा सभागृहमा केही समय कार्यालय सञ्चालन गरेको थियो ।

भाडा तिर्न नपर्ने गरी आफ्नै भवन राष्ट्रिय सभागृहमा बसिरहेको महानगरको कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल सभागृहबाट कार्यालय हटाई अन्यत्र सार्न पत्र लेखेपछि हालसम्म पनि महानगरपालिकाको केन्द्रीय कार्यालय लगायत विभिन्न विभागहरु भाडाको घरमा बस्दै आईरहेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचन पश्चात महानगरको मेयरमा शाक्य निर्वाचित लगतैको पहिलो वैठक मै महानगरको केन्द्रीय कार्यालय निर्माण गर्ने प्रस्ताव पास गरिएको शिालन्यासका क्रममा शाक्यले बताए ।
शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेका थियौँ । यसअनुसार अधिकांश वडा कार्यालय नवनिर्माण र पुननिर्माण भइसकेका छन् । हामीले हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेका थियौँ । मुद्दामामिलामा अल्झिनु परेकोले त्यहाँ भवन निर्माणको काम थाल्न पाएनौँ । मुद्दा किनारा लागेपछि हामी त्यो भवनलाई पुननिर्माण गर्छौँ ।’

महानगरपालिकाले गर्ने हरेक काममा व्यक्तिगत स्वार्थ लिनेहरुको सँधै अवरोध हुने गरेको बताउँदै शाक्यले भने,‘ साझा लाभका योजनामा जस लिन नपाउनेले विरोध गर्ने आचरण हावी भएपछि महानगरले तर्जुमा गरेका धेरै योजना अघि बढ्न नसकेको र बढेका योजना पनि रोकिएको छ ।’ ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको स्वतन्त्र अस्तित्वलाई विकासका सवालमा अन्तरसम्बन्धित बनाउन सकिएन भने लहडका भरमा योजना रोकिने रहेछन् ।रानीपोखरी, धरहरा, दरबार हाइस्कुल, कमलपोखरी पुर्ननिर्माणका सृङ्खला यसका उदाहरण हुन् ।’ शाक्यले भने । रोपनी ३ आना ३ पैसा क्षेत्रफलमा निर्माण हुन ८ तल्लाको सो भवनको निर्माण लागत मूल्य भने ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रुपैयाँमा रहेको छ ।