दश बुँदे धेरै ठाउँमा कार्यान्वयन भइसकेको छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले १० बुँदे सहमति कार्यान्वयनलाई लिएर राष्ट्रव्यापी चर्चाको विषय बनाइरहनुपर्ने अवस्था नरहेको बताएका छन् ।

बिहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारले १० बुँदे कार्यान्वयनमा आएको समस्याबारे सोधेको प्रश्नमा प्रवक्ता ज्ञवालीले १० बुँदे धेरै ठाउँमा कार्यान्वयन भइसकेको भन्दै केही ठाउँका सवालमा छलफल गरेर टुंग्याइने बताए । 

‘यसलाई अब राष्ट्रव्यापी रुपमा चर्चाको विषय बनाइरहनुपर्ने अवस्था छैन । किनभने यो अधिकांश ठाउँमा कार्यन्वयन भएर परिणाम जे ल्याउनु थियो ल्याइसक्यो । केही ठाउँमा कार्यन्वयन समस्या छ, हामी त्यहाँ केन्द्रीत भएर छलफल गर्छौ, मलाई लाग्छ भोलिको बैठकले धेरै कुरा टुंग्याउँछ,’ ज्ञवालीको भनाइ छ ।

ज्ञवालीले १० बुँदे कार्यान्वयनमा समस्या देखिएका ठाउँमा सुझाव दिन बनेको कार्यदलको बैठकले शुक्रबारको बैठकमा सुझाव पेश गर्ने भन्दै अधिकांश कमिटीहरु जेठ २ मा फर्किइसकेको र सिंगो पार्टीले लय लिइसकेको दावी गरे ।

उनले केही ठाउँमा स्थानीय अन्तरविरोध रहेका ठाउँको पनि समस्या हल हुने दावी गरे ।