आज रामनवमी पर्व, सार्वजनिक बिदा

काठमाडौं । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको स्मरणमा हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । राम नवमी पर्व मनाउनका लागि नेपाल सरकारले सार्वजनिक विदा नै दिएको छ ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको कथन छ । ‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेका थिए ।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेका उनको शासन काललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएको बताइन्छ ।
रामनवमीको अवसरमा मुलुकभर रहेका राम मन्दिरहरुमा दर्शनार्थीहरुको भीड लाग्न शुरु गरिसकेको छ ।