बुइपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर केन्द्र निर्माण

काठमाडौँ । खोटाङ किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर चिस्यान केन्द्रको निर्माण गरिएको छ । सङ्घीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भार क्षमताको कोल्डस्टोर निर्माण गरिएको हो ।

स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४० लाख गरी कूल ९० लाखको लागतमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । लाखौँको कृषि उपज कारोबार हुने बुइपास्थित पञ्चदोबाटोको शुक्रबारे हटियामा यसअघि चिस्यान केन्द्र नहुँदा किसानलाई भण्डारणमा ठुलो समस्या हुने गरेको थियो ।

चिस्यान केन्द्र सञ्चालनमा आएसँगै वर्षौँदेखि कृषकले भोग्दै आएको भण्डारण सम्बन्धी समस्या अन्त्य भएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताइएका छन् । चिस्यान केन्द्रमा किसानहरुले उत्पादन गरेका कृषि उपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामासमेत निर्यात गर्ने योजना बनाइएको बताएका छन् ।

चिस्यान केन्द्रमा भण्डारण गरेर राखिएका हरियो तरकारी महिनादिनसम्म र फलफूल चारदेखि छ महिनासम्म सुरक्षित रहने बताइएको छ । किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको नगरपालिकाले बताएका छन् ।

नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको रेखदेख वडा कार्यालयले गर्ने कार्यविधि बनाइएको छ । नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुसार केही समयपछि बुइपाका कृषक समूहमध्ये उत्कृष्ट समूह छनोट गरेर चिस्यान केन्द्र सञ्चालनको जिम्मा दिइने वडाध्यक्ष राईले जानकारी दिएका छन् ।

कृषक समूहले किसानका कृषि उपज भण्डारण गरे बापत मासिक रूपमा नगरपालिकालाई न्यूनतम भाडा बुझाउनुपर्ने जनाइएको छ । पञ्चदोबाटोको दुई रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएपछि स्थानीय कृषकहरुसमेत हर्षित भएका छन् ।

निर्माण उपभोक्तामार्फत निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबार नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले औपचारिक रुपमा शुभारम्भ गरेका छन् । जिल्लाका किसान तथा कृषक समूहले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारण गर्नेगरी बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र जिल्लाकै पहिलो हो ।

ऐसेलुखर्क गाउँपालिकामा १०० जना मानिस अटाउने क्षमताको सुविधा सम्पन्न सभाहल निर्माण गरिएको छ । गाउँपालिकाले ७६ लाख ८२ हजार ९८२ को ठेक्का आह्वान गरेकोमा सक्षम निर्माण सेवा, सुनसरीले ४७ लाख ७६ हजार ८०८ मा गाउँपालिकाको सभाहल निर्माण गरेको हो ।