हावाहुरीले कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ । कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण टेलिफोनको टावरमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ ।

टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकासँग सम्पर्क विच्छेद भएका छन् । शुक्रबार राति हावाहुरी आउँदा मोबाइल सेवाले काम नगरेको नरहरिनाथ गाउँपालिका ९ लालुका दुर्गा बोहोराले बताएको छ । हाम्रो गाउँमा मोबाइलको टावर थियो । त्यो टावरले काम गर्न शुक्रबारदेखि छाडेको छ”, उनले भने , फोन सेवा नहुँदा अहिले बाहिर दुनियाँदेखि टाढा भएको अनुभूति भइरहेको छ ।

सान्नी त्रिवेणी गाउँपालिकामा टेलिफोनको टावर राखिएको भए पनि हावाहुरीका कारणले टावरमा समस्या आएको हुँदा मोबाइल फोन गर्न समस्या भएको स्थानीयवासी रामबहादुर सञ्जयालले बताए । दुई दिनदेखि मोबाइलले फोनको काम गरेको भन्दै टेलिफोनको टावरमा समस्या आएका कारणले यो समस्या आएको बताए ।

पलाँता गाउँपालिका टेलिकमको टावर जडान भएको ठाउँमा रहेको सोलार प्यानललाई फुटाएका कारणले टेलिकम सेवा अवरुद्ध हुन पुगेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताएका छन् । टावर राखेका ठाउँमा रहेको सोलार प्यानल असिनापानी र हावाहुरीले फुटाएका कारण फोन सेवा अवरुद्ध भएको हुँदा यो प्राविधिक विषय भएकाले टेलिकम कार्यालयलाई जानकारी गराएका बताए ।

हावाहुरीका कारणले जिल्लाभरका फोन सेवामा समस्या हुँदा मोबाइल सेवा र इन्टरनेट सेवा सुचारुका लागि आवश्यक जनशक्ति र सामग्री बाहिरबाट मगाइएको नेपाल टेलिकम जिल्ला शाखा कार्यालय कालीकोटले जानकारी गराएको छ ।