दोर्दीखोला जलविद्युत् को आइपिओको बाँडफाँट

काठमाडौ । दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन आइपिओको बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल १४ लाख ७१ हजार ६ सय ६५ जनाले १ करोड ६३ लाख ९७ हजार १ सय १० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए ।

आवेदन दिएकामध्य ८ सय ८२ जना आवेदकको आवेदन रद्द भएको थियो । बाँकी १४ लाख ७० हजार ७ सय ८३ योग्य आवेदकमध्ये २ लाख १ हजार ९ सय ८६ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी ९ कित्ता शेयर १० कित्ता भन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप ९ जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जानकारी दिइएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८ सय ४० कित्तासहित गरी प्रतिकित्ता रु १ सय अङ्कित दरका २१ लाख ९५ हजार ५ सय ९ कित्ता साधारण शेयरको बिक्री खुला गरेको थियो । त्यसमध्ये ६५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी २० लाख १९ हजार ८ सय ३९ कित्ता शेयर मात्रै सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट मेरो शेयरमार्फत हेर्न सकिने कम्पनीले जानकारी गराएको छ ।