तत्कालीन नगरप्रमुख सहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख गोपाल राय यादव सहित २१ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तात्कालिन प्रमुख यादव, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, बडा अध्यक्षहरु र नगर कार्यपालिका सदस्यहरुसहित २१ जानाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त भएको रकम भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

फतुवा विजयपुर नगरपालिकाले ६० र गुजरा नगरपालिकाले ४० रकम वाडँफाँड गर्ने निर्णय भएकोमा फतुवा विजयपुर नगरपालिकाले आर्थिक २०७५ र ०७६ मा लाल बकैया नदीको ठेक्का ऐन नियम विपरीत रद्ध गरी नगरपालिकामा भ्रष्टाचार गरेको अनुसन्धानमा खुलेको छ ।