कैदीहरूबीच झगडा हुँदा ५१ जनाको मृत्यु, २४ सुरक्षाकर्मी घाइते

काठमाडौँ । पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छ । कैदीहरूबीचको झगडामा २४ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ ।

कारागारका कर्मचारीले गद्दाबाट फैलिएको आगो निभाउने प्रयत्न गरेका थिए तर त्यो विशालरूपमा फैलिएकाले उनीहरूले अग्नि नियन्त्रकहरूको आगमनको प्रतीक्षा गर्नुपरेको थियो । अघिल्लो वर्ष ब्राजिलको जेलमा भएको घातक दङ्गामा ५० जनाभन्दा बढी मारिएका थिएभने १६ जनाको शिरच्छेदन गरिएको थियो ।