बाँकेमा कारागार भवन निर्माण अन्तिम चरणमा

काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिका २ को नौवास्तामा क्षेत्रीय कारागारको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । दश बिघा क्षेत्रफलमा ४१ करोडको लागमा निर्माण भएको हो । अत्याधुनिक सुविधासम्पन्न सो कारागारको विद्युत्, सिसीटिभि जडानलगायतका केही काम बाँकी रहेको र केही महिनापछि कारागार सञ्चालनमा आउने जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कारागार छिट्टै सञ्चालन हुने जानकारी दिँदै नयाँ अत्याधुनिक कारागार बनेपछि बन्दीहरूलाई राहत हुने विश्वास व्यक्त गरेका छन् । ४१ करोडको लागमा निर्माण भइरहेको सो कारागार निर्माण भएपछि जिल्ला कारागारमा रहेका ७ सय ५६ मध्ये बिरामी थुनुवाबाहेक करिब ५ सय थुनुवालाई क्षेत्रीय कारागारमा स्थानान्तरण गरिने जेलर सोनकरले जानकारी दिए ।

चार युनिट रहेको कारागारमा २ वटा भवनमा २८ कोठा छन् । चिया, खाजा र पसल सञ्चालन गर्न एउटा वर्कसप हलसमेत निर्माण भएको छ । ३ हजार क्षमताका कारागारमा जिल्ला कारागारमा रहेका अधिकांश थुनुवा र धेरै थुनुवा रहेका कारागारबाट समेत उनीहरुलाई स्थानान्तरण गरिने जेलर उनले बताए । खासगरी रोल्पा, दैलेख, कास्की, रुपन्देही, अछामलगायतका जिल्लाबाट समेत बन्दी जीवन बिताएका उक्त कारागारमा स्थानान्तरण हुनेछन् ।