आसेपासे ठेकेदारको करोडौँ रकम मिनाहा भएको खुलासा

काठमाडौँ । सिरहाको लहान नगरपालिकाका पूर्व मेयर मुनि साह सुडीले आसेपासे ठेकेदारको करोडौँ रुपैयाँको ठेक्का रकम मिनाहा गरेको रहस्य खुलेको छ ।

गत आर्थिक वर्ष २०७७ र ०७८ को नवौँ नगरसभामा कोरोनाको बहाना देखाउँदै उक्त रकम मिनाहा गरेको खुलेको छ । एक करोड ३१ लख ५१ हजार ७ सय ४६ रुपैयाँ ३४ पैसा मिनाहा गरेको पाइएको छ ।

नगरपालिकाका मेयर महेश प्रसाद चौधरीका अनुसार ८० जना ठेकेदार मध्ये १० जनालाई मात्र ठेक्काको ६० प्रतिशतसम्म रकम मिनाहा गरिनुले मिलेमतो भएको प्रष्ट हुन्छ । चौधरीले भने, ‘यसलाई ठेक्का रकम मिनाहा मात्रै भन्न मिल्दैन, यो सरासर भ्रष्टाचार हो । सम्बन्धित निकायले छानबिन गरी दोषीउपर कारबाही गरिनुपर्छ ।,

लहान नगरपालिका ७ का जयकाली सप्लायर्सले ८३ लाख २१ हजार १ सय ११ रुपैयाँमा नगरपालिकासँग वातावरण नदी नियन्त्रणको ठेक्का सम्झौता गरेको थियो। त्यसलाई ५४ लाख ५४ हजार २ सय ४७ रुपैयाँ मिनाहा गरेको छ। साथै उक्त सप्लायर्सले नदी जन्य पदार्थको उत्खनन तथा निकासीका लागि नगरपालिकासँग १ करोड ३२ लाख ५१ हजार १ रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा ५१ लख ३९ हजार ४ सय ६ रुपैयाँ मिनाहा गरेको पाएको छ।

गुदरी हाटबजार सेवा शुल्क बापत १९ लाख ५ सय ५२ रुपैयाँमा लहान १९ का एआर कन्स्ट्रक्सन लहानले नगरपालिकासँग ठेक्का सम्झौता गरेको थियो। नगरपालिकाले कन्स्ट्रक्सनलाई ७ लाख ९६ हजार ९६ रुपैयाँ मिनाहा गरेको छ।

बैलहाट पशु बजारको ठेक्का लहान नगरपालिका ७ का जयनाथ प्रसाद रौनियारले ५२ हजार १ सय ५५ रुपैयाँमा सम्झौता गरेको थियो। नगरपालिकाले उनलाई २६ हजार ७ सय २० रुपैयाँ मिनाहा गरेको छ। खसी बाख्रा हाटबजारको ठेक्का १३ लाख ९ हजार ९० रुपैयाँ मा पाएका उनै रौनियारले यस ठेक्कामा समेत ३ लाख ७५ हजार ४ सय १ रुपैयाँ मिनाहा गरेको खुलेको छ ।

खसीबाख्रा हाटबजार सेवा शुल्क बापत लहान ९ का मोहम्मद इसा मियाँले १५ लाख ५ सय ५१ रुपैयाँमा नगरपालिकासँग ठेक्का सम्झौता गरेको थियो। नगरपालिकाले उनलाई ५ लाख २३ हजार ६० रुपैयाँ मिनाहा गरेको छ।