एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश

काठमाडौं । एनआईसी एशिया बैंकले २५ औं वर्षमा प्रवेश गरेको छ ।

सो बैंकले देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि नै हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरी कुल १९ अर्ब ९२ करोड रूपैयाँ भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । गत अर्थिक वर्ष २०७८ र ०७९ मा मात्रै ३ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबै भन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

बैंकले आर्थिक २०७८ र ०७९ को चौथो त्रयमाससम्ममा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू सेवा प्रदान गरीरहेको छ । सो बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरू कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको एनआईसी एशिया बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताएका छन् ।

अधिकारी पाण्डेले भने मुलुकभर यस बैंकका ३ सय ५९ शाखा कार्यालयहरू, ४ सय ७३ एटिएम, १ सय २ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबै भन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बताए । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २ सय ५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको उनले खुसी व्यक्ता गरे ।