नक्सा पासविपरीत निर्माण भएका संरचाना भत्काउँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि नक्सा पासविपरीत निर्माण भएका संरचाना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो । अवैध संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै कामपाले ३५ दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचनाको बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको छ ।

उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ । दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्देशन दिएको छ । आनाकानी गर्दै आएका ती संरचनामा डोजर चलाउन महानगर बाध्य हुने कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए उनुभयो ।

नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै कामपाले भत्काउन थालेको हो । हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको कामपाले जनाएको छ । ती सबैलाई कानुनी दायरामा ल्याइने छ । “कामपाको ३२ सै वडामा निर्माण भएका यस्ता संरचना बाँकी राखिने छैन”, कामपाका प्रमुख साहको सचिवालय सदस्य सुनिल लम्सालले भने ।

महानगरपालिकाले सूचना जारी गरेको ३५ दिन बितिसक्दा पनि सम्बन्धित निकाय छलफलमा नआएपछि अवैध संरचना हटाउन थालिएको हो । प्रमुख साहले भने, “अनधिकृत संरचना नबनाउनुहोस्, त्यस्ता संरचना भाडामा लगाउने काम बन्द गर्नुस् ।” अवैध संरचना भत्काउँदा भाडावालालाई हुन गएको समस्या र क्षतिको विषयमा मालिकबाट क्षतिपूर्ति गराउनेतर्फ कामपाले पहल गर्ने भएको छ ।