कारागारमा गलैँचा उद्योग स्थापना

काठमाडौँ । कारागार कार्यालय धुलिखेलले कारागारभित्र गलैँचा उद्योग स्थापना गरेको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई काम दिने उद्देश्यले गलैँचा बुन्न सुरु गरिएको कार्यालयले जानकारी दिएको छ ।

धागो तयार गर्नेसहित ५० कैदीबन्दीले गलैँचा बुन्ने काम गर्नेगरी व्यवस्थापन गरिएको कारागार कार्यालय प्रमुख गायत्री अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका नवराज केसीले रु ३० लाखको लगानीमा कारागारभित्र गलैचा उद्योग सुरु गरेको हो ।

“कैदीबन्दीलाई कारागारभित्र रहँदा समय बिताउँदै आम्दानी गर्न सकुन् भन्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो”, अधिकारीको भनाइ छ ।

यसअघि कैदीबन्दीले मुढा बनाउने तथा पोते बुन्नेलगायतका काम गर्दै आएका थिए । अधिकारीका अनुसार कारागारभित्र खाली रहेको जमिनमा प्रविधियुक्त मेशिन जडान गरिएको छ । केसीले उपलब्ध गराएका कच्चा सामग्रीबाट तयार भएका गलैचा आफैँले चीनमा बिक्री गर्ने योजना बनाएको छ ।