आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटारमा पुगिन् निहारिका

काठमाडौँ । कुमारी आमाका रुपमा चिनिएकी निहारिका राजपुतले आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटार पुग्दा प्रहरीले आफूलाई पक्राउ गरेको बताएकी छन् ।

उनी आफ्नो छोरा बलात्कारबाट जन्मिएको बताउँदै शिवराज श्रेष्ठसँग डीएनए जाँच गराउन माग गर्दै पटकपटक अनशन बसेकी थिइन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेपछि अझै पनि आफू प्रहरी कार्यालयमा रहेको निहारिकाले बताइन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा गरिएको डीएनए परीक्षणमा श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको हो। राजपुतका कानुन व्यवसायी अधिवक्ता रिन्कु कुमारी यादवका अनुसार आज अदालतले डीएनए परीक्षणको प्रतिवेदन प्राप्त गरेको छ। प्रतिवेदनको अनुसार श्रेष्ठ र राजपुतका छोराको डीएनए म्याच भएको जानकारी उच्च अदालत जनकपुरका प्रवक्ता नुतन झाले दिइन्।

झाका अनुसार २५ गतेका लागि साधारण तारेख दिइएको थियो। अब रिपोर्ट आइसकेकोले २५ गते अर्को सुनुवाइको पेसी तोकिनेछ।

निहारिकाले गत २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास समेत गरेकी थिइन् । भाद्र ५ मा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् ।