काठमाडौँ । जहदा गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रका मतदाता राजु मण्डल आसन्न निर्वाचनमा पहिलो पटक मतदान गर्दै छन् । तर उनलाई मतदान कसरी गर्नेबारे जानकारी छैन । मण्डलले चुनाव, उम्मेदवारलगायत निर्वाचन प्रक्रियाबारे खासै जानकारी नभएको बताए ।
विराटनगरकै एक कलेजमा १२ कक्षामा अध्ययनरत सुजाता मण्डल र नीरज कार्कीलाई मंसिर ४ मा केको चुनाव भइरहेको समेत थाहा छैन ।
‘३० वैशाख र अहिलेको निर्वाचनको फरक पनि थाहा छैन,’ सुजाताले भनिन्, ‘कतैबाट कुनै जानकारी छैन ।’ कार्कीले पनि कति जनालाई र कसरी छान्नेबारेमा कसैले पनि नसिकाएको बताए ।रतुवामाई नगरपालिकाकी ६५ वर्षीया सवितादेवी सिंहले मुलुकमा प्रजातन्त्र प्राप्ति भएदेखि मतदान गर्दै आएकी छन् । उनले भनिन्, ‘तर यस पटकको चुनावमा कतिवटा मतपत्र हुन्छ र कसरी मतदान गर्नेबारे जानकारी छैन ।’
२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङमा खसेको कुल मत ४ लाख ६५ हजार ६४ मध्ये ५।३ प्रतिशत अर्थात् २४ हजार ६ सय ४४ मत बदर भएको थियो । प्रदेश १ मा २९ लाख ९३ हजार ७ सय ७४ मध्ये २० लाख २२ हजार ५ सय ६१ मत खसेको थियो । यसमध्ये १ लाख ८ हजार ६ सय ४७ मत बदर भएको थियो । प्रदेशका १४ जिल्लामध्ये सबभन्दा बढी भोजपुरमा ८.३१, दोस्रोमा पाँचथरमा ७ दशमलव ३६, तेस्रोमा उदयपुरमा खसेको मतको ६।४६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगको तथ्यांकमा छ ।
यस प्रदेशमा सबभन्दा कम इलाममा ३.७ प्रतिशत मत बदर भएको तथ्यांक छ । यस प्रदेशस्थित प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भन्दा कम मत बदर भएको थियो । प्रदेशसभा सदस्यमा खसेको कुल मत २० लाख २० हजार ४ सय ३५ मध्ये ४.४ प्रतिशत अर्थात् ८८ हजार ९ सय ९८ मत बदर भएको थियो ।
प्रदेशका १ सय ३७ स्थानीय तह निर्वाचनमा कुल मतदाता ३३ लाख ४७ हजार ३ सय ८४ मध्ये २२ लाख ९० हजार ६ सय ९ मत खसेको थियो । जसमा प्रदेशको एकमात्र महानगरपालिका विराटनगरमा प्रमुखमा २४ र उपप्रमुखमा ३८ प्रतिशत मत बदर भएको थियो । उपप्रमुख पदमा विजयी उम्मेदवारले पाएकोभन्दा बढी मत बदर भएको थियो । उपप्रमुखमा २५ हजार ६ सय ८० मत ल्याएर एमालेकी शिल्पा निराला कार्की विजयी हुँदा ३४ हजार १ सय ७६ मत बदर भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम नहुँदा बदर मतको संख्या बढेकाले यस पटक स्थानीय तहमार्फत नै मतदाता शिक्षा कार्यक्रम समुदायस्तरमा सञ्चालन गर्ने कार्यक्रम रहेको बताए । ‘यस पटकको चुनावमा प्रत्येक मतदाताले चारवटा मतपत्रमा मतदान गर्नुपर्नेछ,’ उनले भने, ‘पहिलो मतपत्रमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गरिसकेपछि अर्को मतपत्र लिएर प्रतिनिधिसभाकै समानुपातिकतर्फका उम्मेदवारका लागि मतदान गर्नुपर्छ ।’ त्यसपछि तेस्रो मतपत्र लिएर प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारलाई र चौथो मतपत्रमा प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारलाई मतदान गर्नुपर्ने उनले बताए ।
अधिकारीले बिहीबारदेखि मोरङका १७ वटै पालिकामा नमुना मतदान कार्यक्रम सञ्चालन गरेर मतदान प्रक्रियाका बारेमा मतदातालाई सु–सूचित गर्ने कार्य सुरु गरिसकेको बताए । नमुना मतदानसँगै मंसिर १ सम्म प्रत्येक वडामा एक स्वास्थ्य स्वयंसेविकाले १५ दिन समुदायस्तरमा टोलटोलमा गएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने उनले बताए । स्वास्थ्य स्वयंसेविकाले मतको महत्त्व, मतदान प्रक्रिया, सही तरिकाले मतदान गर्ने विधिका बारेमा स्थानीयलाई जानकारी दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।
तर कात्तिक १८ सम्ममा पालिकाहरूले मतदाता शिक्षा कार्यक्रम सुरु गरेका छैनन् । विराटनगर महानगर, जहदा, कटहरी, बुढीगंगालगायतका पालिकाहरूमा स्वास्थ्य स्वयंसेविकाहरू वडामा मतदाता शिक्षा कार्यक्रम लिएर खटिसकेका छैनन् । एउटा वडामा एक स्वास्थ्य स्वयंसेविकाले टोलटोलमा गएर स्थानीयलाई भेला गराएर मतदानको तरिका सिकाउने मात्रै कार्यक्रम रहेकाले मतदाता शिक्षा खासै प्रभावकारी नहुने अधिकारी पनि स्वीकार्छन् । उनले मतदाता शिक्षा घरघरमा गएर दिने कार्यक्रम भए बढी प्रभावकारी हुने बताए । महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक डा। वेदराज आचार्यले निर्वाचन आयोगले नाममात्रको मतदाता शिक्षा सञ्चालन गरेर विधि मात्रै पुर्याउने काम गरेको आरोप लगाए ।
‘मत बदर हुनु भनेको सम्प्रभुता अधिकारबाट वञ्चित हुनु हो, मतदाताको मत बदर हुन नदिने व्यवस्था गर्नु राज्यको दायित्व हो,’ उनले भने, ‘यसका लागि राजनीतिक दलहरू पनि जिम्मेवार नभएको देखियो । दलहरूले पनि आ–आफ्नो पार्टीलाई मात्रै मत हाल्न सिकाउने गरेकाले पनि मतदाता शिक्षा प्रभावकारी हुन सकेको छैन ।’ प्रदेशस्थित राजनीतिक दलका सभापति तथा अध्यक्षहरूले मतदातालाई आफूहरूले मत बदर हुन नदिन घरघरमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए । कान्तिपुरपोष्टबाट
Add Comment