१३ वर्षदेखि फरार रहेका विक पक्राउ

काठमाडौँ । ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका थिए ।

विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको कुटपिटपछि मृत्यु भएको घटनामा सर्वोच्च अदालतले विसं २०६८ वैशाख १४ मा गरेको फैसलाअनुसार पिमबहादुर दोषी ठहरिएका थिए ।

सर्वोच्चबाट १२ वर्ष छ महिना कैद सजाय तोकिएपछि फरार रहेका पिमबहादुरलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त ६० वर्षीय पिमबहादुरलाई कैद भुक्तान प्रक्रियाका लागि जिल्ला अदालतमा पठाइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

प्रहरीले बैंकिङ कसुरको मुद्दामा फरार बागलुङ नगरपालिका–१३ का ५२ वर्षीय विष्णु गिरीलाई पनि पक्राउ गरेको छ । काठमाडौँको नागर्जुन नगरपालिका–९ का तार्कबहादुर कुँवरको जाहेरीपछि चेक बाउन्समा गिरी दोषी ठहरिएका थिए ।

कानुनबमोजिम फक्राउ परेका दुवै फरार अभियुक्तलाई लगत कट्टाका लागि जिल्ला अदालतमा पठाइएको प्रहरीले जानकारी दिएको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्तको खोजीमा प्रहरी सक्रिय छ ।

उच्च अदालत पाटनले विसं २०७६ कात्तिक १ गतेको फैसलाबाट गिरीलाई २० दिन कैद र ७ लाख ९६ हजार जरिवाना तोकेको थियो । गिरीलाई पनि घरमै लुकिछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट