उपभोक्ता झुक्याउँदै असली हिमालीको नक्कली काम

काठमाडौं । पछिल्लो समय बढ्दै गईरहेको आयुर्वेदिक उपचार पद्यती र प्राकृतिक चिकित्सासँग जोडेर प्राकृतिक जडीबुटीको उत्पादन भन्दै नेपाली उपभोक्ता ठगी गर्ने कार्य बढ्दै गईरहेको छ । नेपाली प्राकृतिक जडीबुटीबाट उत्पादन गरिएको भन्दै विभिन्न खाले सावुनदेखि स्याम्पु एवं छाला सम्वन्धित क्रिम उत्पादन गरेर सामाजिक सञ्जाल मार्फत उपभोक्ता ठगी गरेको भन्दै उपभोक्ताहरुको गुनासो बढ्न थालेको छ ।

पछिल्लो समय असली हिमालीका नाममा अरुले उत्पादन गरेको केही सावुन, स्याम्पुलाई आफ्नै उत्पादन भन्दै उपभोक्तासँग चर्को मूल्य लिएर विक्री वितरण गरेको उजुरी बाणिज्य मन्त्रालय मातहतमा रहेको उपभोक्ता हकहित संरक्षण समितिमा परेको छ ।

कुनैपनि उत्पादन विक्री वितरण गर्नु पूर्व त्यसको गुणस्तर, मूल्य लगायतका विषयमा बाणिज्य विभाग मार्फत स्वीकृत लिनु पर्ने भएको भएपनि असली हिमाली ब्राण्डका नाममा गुणस्तरहीन र नेपाल सरकारसँग स्वीकृत नै नलिई बजारमा विक्री वितरण गर्ने गरेको पाइएको छ ।

असली हिमाली कम्पनीका नाममा अहिले बजार प्राकृतिक जडीबुटिबाट उत्पादन भएको स्याम्पु, सावुन, छाला सम्वन्धि क्रिम विक्री वितरण हुँदै आईरहेको देखिन्छ । विभिन्न सामाजिक सञ्जालहरुको प्रयोग गरी असली हिमाली नाम गरेर नक्कली काम गर्दै आएको खुलेको छ ।

मान्यता प्राप्त सरकारी निकायमा समेत व्यवसाय दर्ता नभएको, आफ्नै कार्यालय नभएको सो कम्पनीले विभिन्न नाममा उपभोक्ता ठगी गर्र्दै आएको उजुरी पश्चात अहिले बाणिज्य विभागले असली हिमालीको कार्यालय खोजी गर्न थालेको छ । बजारमा असली हिमालीले अरुले उत्पादन गरेको सामग्रीलाई आफ्नो लोगो प्रयोग गरेर नक्कली काम गरेको समेत उजुरी परेको बाणिज्य विभाग श्रोतले बताएको छ ।