फुटबलमा ब्रेन्टफर्डसँगको खेलमा लिभरपुल पराजित

काठमाडौँ । सोमबार राति भएको खेलमा इङ्लिस प्रियिमर लिग फुटबलमा लिभरपुल ब्रेन्टफर्डसँगको मैदानमा ३–१ गोलले पराजित भएको छ ।

ब्रेन्टफर्डको जितमा योइन विसा र ब्रायन मविउमोले गोल गरेका थिए । ब्रेन्टफर्डले अर्को गोल लिभरपुलका इब्राहिम कोनाटबाट आत्मघाती उपहार पाएको थियो । लिभरपुलका एलेक्स अक्सलेड चेम्वरलेनले सान्त्वना गोल फर्काएका थिए ।

ब्रेन्टफर्डले १९औँ मिनेटमा आत्मघाती गोल सहयोगमा खाता खोलेको र कर्नरबाट आएको बल बचाउने क्रममा लिभरपुलका इब्राहिमको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । ४२औँ मिनेटमा योइन विसाले गोल गर्दै ब्रेन्टफर्डको अग्रता दोब्बर बनाएका छन् ।

५०औँ मिनेटमा चेम्वरलेनले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरेका छन् । तर, ८४औँ मिनेटमा ब्रायन मविउमोले गोल गर्दै ब्रेन्टफर्डलाई सजिलै जिताएका थिए ।

पराजित लिभरपुल २८ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको आर्सनलको ४३ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३६ अङ्क छ भने आर्सनल र सिटीले समान १६ खेल सकेका बताएका छन् ।