लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।

मङ्गलबार झापा गाउँपालिकाबाट ३ र मेचीनगरबाट १ जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् । टाघनडुब्बा प्रहरी चौकीबाट झापा गाउँपालिका–१ स्थित सुकुम्बासी टोलमा खटिएको प्रहरी टोलीले मे८प ५३४४ नंको मोटरसाइकललाई रोकी जाँच गर्दा कनकाई–५ का २२ वर्षीय गौरव चुडाल र कनकाई–४ का ४४ वर्षीय भीमबहादुर बस्नेतको साथबाट तीन ग्राम सात सय मिलीग्राम ब्राउनसुगर एक थान डिजिटल तराजु बरामत गरेको बताएका थिए ।

त्यस्तै काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित भट्टराई चोकमा पैदल हिँडिरहेका सोही स्थानका २८ वर्षीय दिलीप लिम्बूलाई शङ्का लागेर जाँच गर्दा उनको साथबाट एक ग्राम ५ सय मिलीग्राम ब्राउनसुगर बरामद गरेको बताएका छन् ।

यसैगरी झापा गाउँपालिका–४ र ५ को सिमानामा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–७ का २३ वर्षीय वामदेव मिश्रको साथबाट ब्राउनसुगर बरामद गरेका थिए ।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेकोे जानकारी दिएका छन् ।