प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले आज विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा विश्वासको मत लिँदैछन्।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको हो । उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ ।

प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने भएको हो ।

दुई ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीलाई १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।दोस्रो दल बनेको एमालेले तेस्रो दलका नेता दाहाललाई प्रधानमन्त्री बनाएको छ।

दोस्रो बनेको एमालेसँग ७८ सांसद निर्वाचित भएर आएका छन्। त्यसमा स्वतन्त्र जितेर आएका किरण साह पनि थपिएका छन्। सरकारको नेतृत्व गरिरहेको माओवादीका ३२ सांसद छन्। पहिलो पटक नै निर्वाचनमा सहभागी भएर चौथो बनेको रास्वपाका २० सांसद छन्। राप्रपाका १४ सांसद छन्। जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४, नेमकिपा र जनमोर्चाका १–१ सांसद छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानीमा उनले विश्वासको मत प्राप्त गर्ने कुरामा आफू विश्वस्त मात्रै नभई सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिने बताए । उनले भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिंगै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ।’