बागमती प्रदेशका मुख्यमन्त्री शालिकरामद्वारा शपथ

काठमाडौँ । बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त शालिकराम जम्कट्टेलले आज मङ्गलबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री जम्कट्टेललाई शपथ ग्रहण गराएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले शपथसँगै पहिलोचरणमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेको छ । मुख्यमन्त्रीको सिफारिसमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना मन्त्री नियुक्तिसँगै मङ्गलबारनै शपथ ग्रहण गराइएको छ ।

एमालेबाट बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा मन्त्री बनेको हो । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने थापाले जिम्मेवारी पाउने मन्त्रालय पछि तोकिने भएको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार दिउँसो माओवादी केन्द्रका संसदीय दलका नेता जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको थियो । बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थनमा जम्कट्टेल मुख्यमन्त्री बनेका हुन् । माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेललाई एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।