भूमि आयोगका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पोखरेलविरुद्ध १ करोड ६ लाखभन्दा बढी स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले पोखरेलविरुद्ध १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपियाँ १२ पैसा बिगो कायम गरेर मुद्दा दायर गरेको जानकारी दिएका छन् । भण्डारीका अनुसार गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पोखरेलकी श्रीमती विमला न्यौपाने पोखरेलाई प्रतिवादी बनाएका छन् ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन निमित्त कार्यालय प्रमुख रहँदा नै अख्तियारले पोखरेलमाथि अनुसन्धान सुरु गरेका र पोखरेल सरुवा भएर भूमि आयोग पुगेका थिए । पोखरेलविरुद्ध गैकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले आज मुद्दा दायर गरेको जानकारी प्रवक्ता भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार पोखरेल सरकारी सेवामा प्रवेश गरेको विसं २०४६ असारदेखि २०७८ फागुन १५ गतेको अवधिमा उनी र उनका परिवारका नाममा रहेको चलअचल सम्पत्तिमा आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा ४ करोड ३७ लाख ८८ हजार ४०२ रुपियाँ १० पैसा बराबरको चलअचल सम्पत्ति फेला पारेकोमा ३ करोड ३१ लाख ५५ हजार ६२ रूपियाँ १९ पैसाको मात्रै स्रोत खुलेको र स्रोत नखुलेकोलाई बिगो कायम गरी पोखरेलविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिएका छन् ।