मन्त्रीले सङ्घीयता र गणतन्त्रको विरोध गर्न नमिल्ने : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदमा बसेका मन्त्रीले सङ्घीयता र गणतन्त्रको विरोध गर्न नमिल्ने बताएको छ। राष्ट्रिय सभाको मङ्गलबारको बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले यस्तो धारणा राखेकाो हो।

प्रधानमन्त्री दाहालले भने, ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सङ्घीय समावेशी लोकतन्त्र हाम्रो नयाँ संविधानका मूलभूत विशेषताभित्र पर्छन्। यो धेरै ठूलो योगदान र सङ्घर्षपछि प्राप्त भएको भनेर नेपाली जनता र हामी सबैले संविधानसभामार्फत् स्वीकार गरिएको कुरा हो। सुरुदेखि नै सङ्घीयता, लोकतन्त्र र गणतन्त्रको विषयमा विरोध चल्दै आएको हो। राजतन्त्रको ठाउँमा गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वमा एकमत भएको होइन। बहुसङ्ख्यक जनसङ्ख्याको आन्दोलन र धेरै नेपालीको बलिदानपछि यस्तो राजनीतिक माहोल बन्यो। अन्तत सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतामा जाने कुरामा देश अगाडि बढ्यो।

अहिले संविधान कार्यान्वयनको चरणमा जाँदै गर्दा यी विषय वैधानिक रुपमा स्थापित भए पनि कहीँ न कहीँ प्रश्न उठाउने जमर्को भएको छ। मैले यो कुरा प्रत्यक्ष थाहा पाएको थिइनँ। मेरै क्याबिनेटको एकजना मन्त्रीले सङ्घीयता खारेज गर्नुपर्छ भनेर भन्नुभएको कुरा माननीय सदस्यले सुनाउनुभएको छ। यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मन्त्रिपरिषद्‍भन्दा बाहिर गएर कुरा राख्ने अधिकार सबै राजनीतिक दल र मान्य सदस्यलाई पनि हुन्छ।