कामना सेवा विकास बैंक घोटाला प्रकरण : २२ कर्मचारीविरुद्ध पक्राउ पूर्जी

काठमाडौँ । कामना सेवा विकास बैंकमा भएको घोटालाबारे थप छानविन गर्दा २२ जना कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बैंकमा झण्डै ४० करोड रुपैयाँ घोटाला प्रकरणमा प्रहरीले बैंकका २२ जना कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

पक्राउ पूर्जी जारी भएकामध्ये केही उच्च अधिकारी पनि छन् । घोटाला प्रकरणबारे राष्ट्र बैंकको इन्सपेक्सनपछि कार्वाहीका लागि सीआईबीमा पत्र पठाएसँगै कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । ‘इलाका प्रहरी कार्यालय दमकले पक्राउ पूर्जी जारी गरिसकेको छ ।

बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीको नाममा प्रवाह भएको ३१ करोड रुपैयाँ अपचलन गरेको पाइएको थियो । यसरी प्रवाह हुने अधिकांश ऋण बिनाधितोको समेत छ । पक्राउ पूर्जी जारी भएको खबरपछि केही कर्मचारी फरार भएका छन् । केहीले प्रहरीसमक्ष आत्मसमर्पण गर्ने तयारी गरेका छन् । केही कर्मचारी प्रहरीकहाँ पुग्नु अगाडि आफ्ना कुरा राख्ने भन्दै अर्थ सरोकारको सम्पर्कमा आईपुगेका छन् ।

अर्थ सरोकार डटकमले कामना सेवामा भएको सो घोटालाका बारे समाचार प्रकाशन गरेपछी राष्ट्र बैंकले बैंकमा इन्स्पेक्सन गरेको थियो । इन्स्पेक्सनका क्रममा बैंकमा करोडौँको घोटाला भेटिएपछि राष्ट्र बैंकले थप अनुसन्धानका लागि सो फाइल सिआईबीमा पठाएको थियो ।