शिक्षामा ठूलो संरचनागत परिवर्तन आवश्यक छ : शिक्षामन्त्री खनाल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले देशभरका झण्डै ८० लाख विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्नु आफ्नो मन्त्रालयको मुख्य जिम्मेवारी रहेको बताउनुभएको छ ।

नेपालको शिक्षा क्षेत्र जटिल अवस्थामा रहेकाले यस क्षेत्रमा ठूलो संरचनागत परिवर्तनको खाँचो औँल्याउँदै शिक्षामन्त्री खनालले समयमै परीक्षाको नतिजा सार्वजनिक गर्ने र पाठ्यपुस्तक पाउने व्यवस्थाका लागि प्रयास सुरु भइसकेको जानकारी दिनुभयो । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसले आयोजना गरेको ‘प्रतिमा अनावरण तथा सम्मान’ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्नुहुँदै मन्त्री खनालले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

शिक्षामन्त्री खनालले भन्नुभयो, ‘‘पढाइ सुरु भएको १० महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेनन् र त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको १५ महिना बित्दासमेत नतिजा सार्वजनिक नगरेको अवस्था छ, यसमा सुधार हुनैपर्छ, सुधारका लागि प्रयास सुरु पनि गरिएको छ ।’’ विद्यालयदेखि विश्वविद्यालयमा पढ्ने करिब ८० लाख विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारीमा रहेको र चार–पाँच लाख शिक्षकले अझै मेहनत गर्नुपर्ने खाँचो औंल्याउँदै मन्त्री खनालले औंल्याउनु भयो ।

उहाँले विद्यालयको भौतिक विकास र शिक्षकको वृत्ति विकासमा राज्यले पहल गर्ने छ भन्नुभयो । सार्वजनिक क्षेत्रको शिक्षाको गुणस्तर अझै पनि चुनौतीपूर्ण रहेको र सामुदायिक क्याम्पसहरूका समस्याबारेमा पनि अध्ययन गर्नु जरुरी छ, हाम्रो शिक्षा ऐन २०२८ को कायमै छ, विश्वविद्यालय ऐनको आवश्यकता छँदैछ, हामी सबै मिलेर शिक्षा क्षेत्रको समग्र विकास र उन्नतिका लागि लाग्नुपर्छ, शिक्षामन्त्री खनालको भनाइ छ ।

ग्रामीण बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवम् तारकेश्वर नगरपालिकाका पूर्व प्रमुख रामेश्वर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षामन्त्री खनालले क्याम्पसको स्थापना अवधिमा महत्वपूर्ण योगदान पु¥याउनु भएका शिक्षासेवीहरूलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मानित गर्नुभयो ।

मन्त्री खनालले क्याम्पसका संस्थापक अध्यक्ष ढकलध्जव थापाकी श्रीमती सिद्धकुमारी थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर बोहरा, पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ, पूर्व क्याम्पसप्रमुख धनलाल महर्जनलगायतलाई सम्मानित गर्नुभयो ।

विसं २०५१ मा नेपाल राष्ट्रिय माविमा जम्मा ७ जना विद्यार्थी भर्ना गरेर कक्षा ११ बाट पढाइ सुरु गरिएकोमा अहिले शिक्षा, विज्ञान, मानविकी र व्यवस्थापन सङ्कायमा स्नातकोत्तरसम्म गरी करिब चार हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी क्याम्पसप्रमुख राजेन्द्रध्वज थापाले दिनुभयो ।

यसैबीच, क्याम्पस परिसरमा स्थापना गरिएको क्याम्पसका संस्थापक अध्यक्ष ढकलध्वज थापाको अर्धकदको प्रतिमा पनि अनावरण गरिएको छ । गोरखापत्र