रामचन्द्र पौडेललाई माओबादीसहित आठदलको समर्थन

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओबादीसहित आठदले समर्थन गरेका छन् । नेता पौडेलले संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी राष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन् ।

पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् ।

त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।

पौडेललाई नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेपछि पौडेलले चुनाव हुने दिन २५ फागुनसम्म आफूलाई एमालेले पनि समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने ‘एमाले अध्यक्ष पनि म सँगै जेल बस्नुभएको हो, पुरानो साथी हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’ । यही फागुन २५ गते राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।