उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै

काठमाडौँ । तेस्रो उपराष्ट्रपति चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए। बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।

उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसङ्केत गर्नुपर्नेछ ।

सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ । निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ ।