नेपाल विश्वकप छनोटमा

काठमाडौँ । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ ।

ग्लोबल छनोट जुन–जुलाईमा जिम्बावेमा हुँदै छ । जहाँ १० टिम प्रतिस्पर्धामा हुनेछन् । १० टिमले दुई समूह रहेर प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर लिगमा पुग्नेछन् । सुपर लिगको खेलपछि शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । छनोट खेल्ने नेपालसहित नेदरल्यान्ड्स, जिम्बावे, ओमान र स्कटल्यान्डले स्थान पक्का गरिसकेका छन् । अन्य टिम छनोट हुन बाँकी छ ।

नेपालको जित केही हदसम्म विवादास्पद पनि रह्यो । तर, नेपाल जितका लागि पूर्णतः हकदार बन्यो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खराब प्रकाशका कारण खेल रोकिँदा नेपाल डकवर्थ लुइस नियमअनुसार ९ रनले विजयी रहेको हो ।

एक प्रकारको अन्योलताबीच मैदानको मध्यभागमा रहेका नेपाली ब्याटरद्वय गुलशन झा र दीपेन्द्रसिंह ऐरीले जितको संकेत गर्दै एक आपसमा अँगालो मारेपछि त्रिवि मैदानको भित्र र बाहिर रहेका १५ हजार हाराहारी समर्थकले खुसीयाली मनाउन सुरु गरेका थिए । खेल रोकिँदा ५ बजेर ३७ मिनेट भइसकेको थियो । जितका लागि ३ सय ११ रनको लक्ष्य पाएको नेपाल खेल सकिन ६ ओभर बाँकी छँदा ४१ रनले पछाडि थियो । नेपालको ४ विकेट पनि बाँकी थियो ।

तर, त्यसपछि खेल अगाडि बढाउन सम्भव रहेन । डकवर्थ लुइस नियम खेलमा प्रवेश गरेको थियो । त्यस नियमअनुसार नेपालसामु २ सय ६० रनको लक्ष्य तयार थियो । टिमले ठीक त्यही बेला २ सय ६९ रन बनाएको थियो । त्यसैले नेपाल ९ रनले विजयी रह्यो । खेल रोकिएपछि यूएईका खेलाडीले लामै समय विरोध गर्ने प्रयास गरे । लामै समय वादविवाद गर्नेक्रममा थिए । तर उनीहरूको तर्क पर्याप्त रहेन । अन्त्यमा हार स्वीकार्दै उनीहरूले नेपाली खेलाडीसँग हात पनि मिलाए ।

नेपाल पछिल्ला १२ खेलमध्ये अविश्वसनीय रूपमा ११ मा विजयी रह्यो । आईसीसी पुरुष क्रिकेट वर्ल्डकप लिग २ को शीर्ष तीन स्थानमा रहेकाले ग्लोबल छनोटमा सिधा प्रवेश पाएको हो । नेपालसँगै छनोट हुनेमा च्याम्पियन स्कटल्यान्ड र ओमान छन् । नेपालले आफ्नो इनिङ्स सुरु गर्दा पौने २ बजिसकेको थियो, त्यसैले खेल समयमै समाप्त हुनेमा शंका उत्पन्न भइसकेको थियो । यूएईले ४४ ओभर बलिङ गर्न चार घण्टाभन्दा बढी लगाएको थियो र यो अन्ततः उसका लागि घातक साबित भयो ।

खेलको अन्त्यतिर वर्षाले बिथोलिने सम्भावना पनि देखिएको थियो । त्यतिबेला यूएईका खेलाडीले खेलमा अवरोध उत्पन्न गर्दै व्यवधान पुर्‍याउने प्रयास गरे । यो रणनीति अन्त्यमा उनीहरूकै लागि घातक साबित भयो । यसबीच गुलसन झा र दीपेन्द्रसिंह ऐरीले संयमितता गुमाएनन् । उनीहरूले सातौं विकेटका लागि नटआउट ४४ रनको महत्त्वपूर्ण साझेदारी गरे । खेलको निर्णायक मोड भने नेपाली इनिङ्समा ८ ओभर बाँकी छँदा आएको थियो ।

त्यतिबेला नेपाल डकवर्थ नियमअनुसार पछाडि परेको स्थितिमा थियो । त्यसै स्थितिमा गुलसनले आफ्नो पहिलो एकदिवसीय अर्धशतक पूरा गरे । उनले दीपेन्द्रसिंहसँग मिलेर कप्तान महम्मुद वासिमले फालेको ४२ औं ओभरमा २० रन बटुले । यो वासिमको पहिलो ओभर थियो र त्यसमा २, ६, ४, ४ र ४ रन निस्केको थियो । खेलपछि मिडियासँग कुरा गर्दै कप्तान रोहित पौडेलले क्रिजमा रहेका आफ्ना खेलाडीसँग आफूहरू लगातार सम्पर्कमा रहेको बताए ।

यूएईले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यसक्रममा विशाल योगफल खडा गर्न सफल रह्यो । उसका लागि आसिफ खानले ४२ बलमै १ सय १ रन बनाए । उनले ४ चौका र ११ छक्का प्रहार गरे । उनी नटआउट पनि रहे । आसिफ नै खेलको ‘प्लेयर अफ द म्याच’ भए । यस्तै वृत्य अरविन्दले ९४ रन बनाएर । त्यसका लागि उनले ८ चौका तथा २ छक्का प्रहार गरे । कप्तान वासिमले पनि ४९ बलमा ६३ रन बनाए । उनको ब्याटबाट २ चौका र ६ छक्का निस्केको थियो ।

नेपालका लागि भने चार ब्याटरले आफ्नो अर्धशतक पूरा गरे । ओपनर कुशल भुर्तेलले ३५ बलमा ५० रन बनाए । नेपालको सुरुआत भने खराब रह्यो र ३७ रन बनाउँदासम्म ३ विकेट गुमाएको थियो । त्यसयता भीम सार्कीले ६७ र आरिफ शेखले ५२ रन बनाए । अन्त्यमा गुलसनले पनि अर्धशतक पूरा गरे । खेलको अधिकांश समय नेपाल यूएईको अगाडि दबाबमा देखिएको थियो, तर अन्त्यमा जित भाग्यमानी नेपालकै रह्यो ।

मधेशले गुलशन र आरिफलाई २–२ लाख दिने

मधेश प्रदेश सरकारले विश्वकप लिग २ मा उच्च प्रदर्शन गरेका आफ्नो प्रदेशका गुलशन झा र आरिफ शेखलाई प्रोत्साहनस्वरूप २–२ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

यूएईविरुद्ध सानदार जित गर्दै विश्वकप छनोटमा स्थान बनाएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । मुख्यमन्त्री यादवले नेपाली क्रिकेट खेलाडीले देश र प्रदेशको सम्मान बढाएकाले गौरव महसुस गर्नुका साथै प्रदेशका खेलाडीले मधेशको मान बढाएकाले प्रोत्साहन गर्न पुरस्कार घोषणा गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी गराए । कान्तिपुरपोष्टबाट