कति भयो धरहरा पुनर्निर्माणको काम?

मंसिर, काठमाडौं । काठमाडौँ एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ। निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ।

भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण सुरु गरेको छ। रु तीन अर्ब ४८ करोड लाग्ने धरहराको पुनःनिर्माणमा हालसम्म रु ६२ करोड सकिएको जनाइएको छ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका सो एतिहासिक धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। सो अवसरमा उनले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्नुपर्ने बताएका थिए। हाल सोही अनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ।

निर्माणको काम अन्तर्गत अहिले दोस्रो तलाको ढलान गर्ने तयारी भइरहेको छ भने टावरमुनिको काम सम्पन्न भइसकेको छ। नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धारित समयमै काम सक्नेमा कुनै आशङ्का नगरी ढुक्क हुन आग्रह गरे। निर्धारण गरेको समयमै काम सक्नका लागि आगामी पुससम्मा ५० प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने भएकाले सोहीअनुरुप काम अघि बढेको प्राधिकरणको दाबी छ।

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ। जहाँ दुईवटा लिफ्ट पनि हुनेछ। साथै एउटा परम्परागत भर्‍याङ रहनेछ। लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ। अब बन्ने धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ। ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ  ७२ मिटर र ४८ फिटको बेस रहनेछ। नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्।

धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतको  सुविधा हुनेछन्। गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ। उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ। धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ।

निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ। पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

धरहराको १८औँ तलामा अवलोकलनकक्ष हुनुका साथै धरहरा परिसरमा  म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ। ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो। सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए। –शर्मिला पाठक-