निर्वाचन खर्च विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार भई तोकिएको समयावधिभित्र खर्चको विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ३७ उम्मेदवारसहित ७४ उम्मेदवारको नामावली प्रकाशन गरी ती उम्मेदवारलाई स्पष्टीकरण सोध्ने निर्णय आयोगले गरेको छ ।

उम्मेदवारीहरूलाई ७ दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिइएको छ । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने प्रतिनिधिसभाका सदस्य २ हजार ३ सय ७३ र प्रदेशसभा सदस्य निर्वाचनका ३ हजार १ सय ८८ उम्मेदवारसहित ५ हजार ५ सय ६१ उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को अनुसार सो निर्देशन दिइएको हो ।

निर्वाचन ऐन, २०७४ अनुसार निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नुपर्ने प्राबधान रहेको छ ।