प्रहरीको लाठी प्रहारबाट वडाअध्यक्ष घाइते

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका –३ सुउँका वडाअध्यक्ष सशस्त्र प्रहरीको लाठी लागेर गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरीको लाठी प्रहारबाट ४३ वर्षीय वडाअध्यक्ष भक्तबहादुर केसी घाइते भएका हुन् । ठूलीभेरी नगरपालिकाले आयोजना गरेको प्रथम मेयरकप प्रतियोगिताको फुटवल खेलमा खेलाडीबीचको विवाद नियन्त्रणमा लिनेक्रममा उक्त घटना भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका –३ र जगदुल्ला गाउँपालिका –२ बीचको फुटबल खेलमा भएको विवादमा सशस्त्र प्रहरीले खेलमैदानमा जर्सीसँग रहेका खेलाडी र दर्शकलाई समेत लखेटेका हुन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष सरोज थापाका अनुसार सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक फुजिले शेर्पाको कमाण्डमा रहेका सशस्त्रका जवानहरुले खेलाडीबीच भएको विवाद नियन्त्रणको प्रयास गर्दा केहीबेर तनाव भएको थियो ।

सशस्त्र प्रहरीको लठ्ठी चार्जबाट वडाअध्यक्ष केसीको टाउकोमा गहिरो चोट लागेको छ । उनको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ । सशस्त्र प्रहरीले शान्ति सुरक्षाको नाममा उदण्ड मच्चाएको प्रत्यक्षदर्शीले आरोप लगाएका छन् । वडाअध्यक्षसहित केही खेलाडी समेत घाइते भएपछि समस्या समाधान नभएसम्मका लागि फुटवल खेल स्थगित गरिएको छ ।